स्थानिय निर्वाचन –२०७९
राजानन्द माण्डव्य
बनेपा नगरपालिका
नगर प्रमुख पदमा उम्मेद्वार (स्वतन्त्र) को
“दिगो विकासको बैज्ञानिक अवधारणा पत्र”
–प्रतिबद्धता पत्र–
आदरणीय सम्पूर्ण नगरवासी आमाबुबा, दाजुभाई, दिदिबहिनी तथा आत्मिय मित्रवर एवम् अग्रज व्यक्तित्व, व्यवसायी, उद्योगी, पत्रकार, कलाकार, श्रमीकवर्ग तथा सामाजिक अभियान्ता साथै मैले सम्मान गर्नुपर्ने समस्त आदरणीय व्यक्तित्वहरुमा आगामी २०७९ साल बैशाख ३० गतेका दिन हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बनेपा नगरपालीकाको नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र रुपमा म राजानन्द माण्डव्य यहाँहरुलाई हार्दिक नमस्कार तथा जय मातृभूमी सहितको सम्मान अर्पण गर्दछु। हुन त देशमा बहुदलिय व्यवस्था छ। दलहरुको वर्चस्व छ, दलिय सरकार बन्छ र दल नै शक्तिशाली रुपमा प्रस्तुत हुने गर्दछ । बर्षौदेखी दलको जरा गाडेर बसेका राजनैतिक पार्टी,तिनका भातृसंघ,महिला, युवा, विद्यार्थी लगाएतका विभिन्न संगठनको बलियो अवस्था छ। दल विनाको विकास सम्भावना नै छैन भन्ने अवस्था आजको समयमा रहेको छ। दल विचको दलदलले देश विकास र निकासतर्फ उन्मुख हुनुपर्ने अवस्थामा दलीय स्वार्थको चपेटामा जनताका सार्वभौमसत्ता, अधिकार र आवश्यक्ता कुण्ठित भैरहेका छन्। स्वतन्त्रता र दलको दलदलबाट निस्कनुपर्ने आम जनता झनै दलदल र दलिय चपेटामा परेको प्रष्ट रुपमा समाजमा विद्यमान रहेको छ। यस्तो विषम अवस्थामा दलहरुका विरुद्ध जनताका नैसर्गिक अधिकार र प्राथमिक आवश्यक्ताका बारेमा आवाज उठाउनु आफैमा चुनौतीको रुपमा रहेको मैले अनुभूती गरिरहेको छु। एक व्यक्ती पुरा अराजकताका, असमानता मुलक नगर व्यवस्थापन र संचालनले बहुसंख्यक जनता सम–न्यायमा वञ्चित छन सो विरुद्ध आवाज उठाउनु ठुलो युद्ध जित्नु जस्तै भएको छ। जनप्रतिनिधि साझा हुनुपर्नेमा दलको दलप्रतिनिधि हुने अवस्थाले गर्दा गरिव, उत्पीडित, श्रमिक,दलित,महिला एवं कर्माचारी लगायत निम्नवर्गका आम जनता दलिय स्वार्थका कारण आफ्ना अधिकार कुण्ठित गरि बस्न बाध्य रहेको अधिल्लो स्थानिय तहका जितेर गएका जनप्रतिनिधिहरु ज्वलन्त उदाहरण हुन। यो असमान नगर संचालन र दलिय भागवण्डामा परि आवाज विहिन भएका जनताहरुको बास,गाँस,कपास,शिक्षा, स्वास्थ्य,रोजगारीको पूर्ण प्रत्याभूती गर्नका लागि म बनेपा नगरपालिकाको स्वतन्त्र नगर प्रमुख पदको उम्मेद्वारको रुपमा यहाँहरु सामु प्रस्ततु भएको छु।भन्नलाई जनताको प्रतिनिधि भन्ने तर आफ्ना कार्यकर्ता पोस्ने नितिले समाजमा आवाज उठाउन सक्नेले त आफ्ना आवाज उठाउलान् तर आवाज विहिनहरु आजको यो बैज्ञानिक समाजबादको युगमा पनि विचतिल भएको अवस्थामा छन। सोझालाई सुलीः चोरलाई चौतारी भएको छ। जनता भोट हाल्ने र दलका झण्डा–झोला बोक्ने कामका लागि मात्र जनता हुन भन्ने भएको छ। बहुदल र लोकतन्त्रको उदय त भयो तर जनताका आवाज आज पनि दलको दलदलमा दबिदै गएको यो विषम अवस्थामा स्वतन्त्र नगरको कार्यकारी हुनु भनेको कुनै दलिय स्वार्थ र भेदभाव विनाको जनताको सरकार हुनु हो र जनताको आवाज सुन्ने सरकार नै स्वतन्त्र सरकारको परिकल्पना हो भन्ने जनताको मत रहेको छ।
बनेपा नगरपालीका लगभग ५५ वर्ग किलोमिटर क्षेत्रफल, १४ वडा, लगभग १६ हजार घरधुरी र ६५ हजार भन्दा बढी जनता भएको विकासशील,व्यापारीक नगरको रुपमा रहेको छ। नगर भित्रका जनताले देशमा लोकतन्त्र प्राप्तीका लागि आफ्नो प्राणको आहुती दिएका छन। जिउँदो सहीद मुकेश कायस्थ, सहीद भिमसेन दाहाल, सहिद रामेश्वर श्रेष्ठ लगायत सम्पूर्ण सहिदहरु तथा राष्ट्रप्रेमी नागरिकहरुमा हृदयदेखी नै श्रद्धाभाव अर्पण गर्दछुँ। साविक बनेपाको नयाँ संरचनामा नाला क्षेत्र,महेन्द्रज्योती,उग्रतारा,देवीटार गाविस मिलेर बनेका वडाहरु हुन जहाँ आजपनि विकासका कुनै पनि सुचकांकले सोचेअनुरुप अंक समेट्न सकेको छैन। भौतीक विकासलाई मात्र विकास देख्ने जनप्रतिनिधिहरुको आँखाले गर्दा भौतिक बाहेकको विकास लगभग सुन्य अवस्थामा नै छ।
भौतिक संगै नैतिक, सामाजिक, आर्थिक र आध्यात्मिक विकास नै वास्तविक नगरको समग्र विकास हो तसर्थ यि उल्लेखीत तत्वहरुको चौतर्फी विकास गर्ने मेरो लक्ष्य रहको छ।
म एक किसानको छोरा, आफै पनि किसान भएको, किसानका पिडाहरु भोगेको, देखेको र त्यसको विकल्प समेत अध्ययन गरिसकेको अवस्था हो। गाँउको अवस्था, बाटो, सञ्चार, सामुदायिक शिक्षा, वेरोजगार जनता, स्वाथ्यमा असमान पँहुच लगायतका विभिन्न पिडाहरुबाट गुज्रिएर यहाँसम्म आएर आफ्ना नगरका जनताको सुख, दुखमा म पनि सारथी बन्न सक्छु भन्ने आँट गरि मैले यस बनेपा नगरपालिकाको आगामी निर्वाचनको स्वतन्त्र नगर प्रमुख पदको उमेद्वारको रुपमा यहाँहरुको सामु उभिन पाउँदा मलाई एक प्रकारको गर्व महसुुस भैरहेको छ। यहाँहरुको दुखमा मैले मेरो तन,मन,बचन,कर्मले पहिलो स्वर्णिम ५ वर्ष संचालन गर्न सम्पूर्ण नगरबासी आमाबुबा, दाजुुभाई,दिदिबहिनीहरुको माया, सद्भाक, करुणा, योगदान, मार्गदर्शन सहितको अमुल्य मतको अपेक्षा गरको छु।यहाँहरुको त्यो अमूल्य मत जसका कारण मैले मेरो क्षमताले सक्ने सम्मको नगरको विकासमा योगदान गर्ने प्रण गरेको छु। माता चण्डेश्वरी, माता उग्रचण्डी, चामुण्डा माई, करुणा माई, गोरखकाली माई, आशापुरेश्वर महादेव, साँगा नासिका भगवती, धनेश्वर महादेव,काभ्रे भिमसेन,बासुकी नाग, विकटेश्वर महादेव, रत्नचुडेश्वर,बाल्मिकेश्वर, मनकामना माई,नाला गुम्वा लगाएत नगरपालीका भित्रका सम्पूर्ण धार्मिक देवस्थलको संकल्प गरि नगरको हित अनुकुल काम गर्ने र जनताका पिर,समस्याहरुको अनवरत हल गर्ने प्रण गर्दछु।
मलाई थाहा छ समस्या धेरै छन, आवश्यक्ता असंख्य छन। सपना ठुला छन, बजेट कम छ तर पनि सानासाना सपनाहरु पुरा गर्नु छ जुन सपनामा हाम्रो विकास छ र हामी खुसी हुनसक्छौ। तसर्थ नगरको चौतर्फी विकास र निकासका लागि नगरकै आवश्यक्ता अनुरुप मैले सवैको साझा योजना र संभावनाहरु प्रतिबद्धता पत्रका रुपमा यहाँहरुको सामु लिएर आएको छु। मलाई यो पनि थाहा छ कि म एक्लैले जितेर पनि केहि ठुलो गर्न नसकुला तर मैले आज सम्म कमाएका मानिसहरु, म धाएका मन्त्रालयहरु, मैले सम्वन्ध बनाएका मन्त्रालय देखी सरकारी निकायहरुमा रहेको कर्माचारीहरु सवैको साथ मिलेमा नगरको बजेट र कार्ययोजना सहित देशको नमुना नगरको रुपमा स्थापित गर्न सकिने मेरो विश्वास छ। म नगर प्रमुखको रुपमा निवार्चित भईरहदा मेरो दलगत स्वार्थ नहुने र सवै दलहरु संग सहकार्य गर्दै नगरपालीकालाई देशकै सम्वृद्ध नगरपालीका बनाउन सकिन प्रतिवद्दता व्यक्त गर्दै मेरो कार्यकालमा नगरका अत्यावश्य योजना र लक्ष्यहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेको छु।
क) नगरपालिकाको हालसम्म एउटा पनि एम्बुलेन्स, दमकल, शववाहन नभएको विषम अवस्था छ ।सर्वप्रथम नाला क्षेत्रमा १ वासडोल, महेन्द्र ज्योति क्षेत्रमा एक र बनेपा,साँगासम्मकोक्षेत्रमा १ एम्बुलेन्स सेवा प्रवाह गर्ने
ख) १ दमकल खरिद गर्ने
ग) शववाहन सेवा नगरपालिकाभित्र निःशुल्क प्रदान गर्ने
घ) विपन्न तथा अति विपन्न परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गर्ने
ङ) नगरपालिकाले ‘हेल्थ डेक्स’ सञ्चालन गर्नेछौँ। २ जना जनरल फिजीसियन डाक्टर राखी परामर्श गर्ने ब्यवस्था सुरु गरिनेछ ।
च) प्रत्येक हप्ता शनिबार गाउँघर स्वास्थ्य घुम्ती सेवा सञ्चालन गर्नेछौँ।
छ) हरेक नागरिकको स्वास्थ्य विमा गराउने ।
ज) क्यान्सर, ट्युमर तथा मुटुरोग, मृगौंला पिडितको उपचारमा अनुदान दिने र विपन्नको हकमा उपचारमा सहयोग गर्ने ।
झ) “एक गाउँ एक स्वास्थ्य स्वयम्सेवक” परिचालन गरिनेछ । जसका लागि नगरपालिकाले स्वास्थ्य आधारभूत तालिम दिनेछ ।
ञ) धामी, झाँक्री, वैद्यलाई समेत आयुर्वेद, होमियोप्याथिक एलोप्याथिक औषधी सम्बन्धी ज्ञान र तालिम दिइनेछ ।
ट) विद्यालयमा महिलाको लागि सेनेटरी प्याड निःशुल्क प्रदान गरिनेछ । सेनेटरी प्याड निर्माण तालिम निःशुल्क प्रदान गरिनेछ ।
ठ) दोस्रो सन्तान जन्माउँदा प्रत्येक सुत्केरी तथा नवजात शिशुलाई भत्ता प्रदान गरिनेछ ।
ड) नवजात शिशु तथा आमाको स्वास्थ्य जाँच स्वास्थ्य स्वयम्सेवकले घरघरमा गई खोप तथा पोषणको सेवा प्रदान गरिनेछ।
ढ) बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा सुत्केरी भत्ता प्रदान गरिनेछ ।
ण) बच्चाको बाल बचत खातामा जनही तीन हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिनेछ ।
त) अन्य आवश्यक्ता अनुसार सेवा प्रदान गरिदै लगिनेछ।
क) बनेपा नगर कृषकको नगर हो । किसान राष्ट्रको धरोहर हो । किसान बिना कृषि उपज उत्पादन हुँदैन । कृषि उपज जिवनको आधार हो । किसानलाई सम्मान नै अन्नको सम्मान हो । अन्न जीवन हो । यो सत्यलाई आत्मसाथ गरौं ।
ख) नगरका लगभग ८० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन्। तसर्थ नगरको बजेटको पहिलो
प्राथमिकता कृषि क्षेत्र हो ।
ग) किसान ऋणमा डुब्ने तर कृषि उपज विक्री नभएर खोला र खाल्डामा पुनुपर्ने बाध्यतको अन्त्य गर्ने, जसका लागि नगरले कृषि उपजको बजारीकरण गर्नेछ ।
घ) आलु, तरकारीको पकेट क्षेत्र अन्तर्गत नाला १, २, ३, ४ वडा ११, १२, १३, १४, वडा र ५, ६, ७, ८, ९, १० वडामा कोल्ड स्टोर बनाउने । किसानका कृषि उपज कुहिने, नबिक्ने कुराको उचित मुल्यांकन गरि बजार भाउको एकरुपता गर्ने पहिलो वर्षको लक्ष्य हो ।
ङ) कृषि औजार, मलखाद्य, तालिम, ऋण, अनुदान, विउविजनमा सहुलियत गर्ने । वडा वडामा कृषि जेटिएलाई प्रोत्साहन र किसानलाई तालिम प्रदान गर्ने
च) बहुवर्षिय बाली( सुन्तला, अनार,मसला,फलफुल) लाई प्राथमिकतामा राख्ने, जसका लागि नगरले अनुदान, ऋण र सहुलियतता प्रदान गर्ने
छ) कृषि फर्म र पशु फर्म गर्नेलाई कर छुटको व्यवस्था गर्ने
ज) कृषि उपज नगरपालिकाको सहकार्यमा कृषि सहकारी मार्फत गरिनेछ । किसानले उत्पादन गरेको जुनकुनै उपज खरिद गर्ने, नाफा पुन सहकारी मार्फत किसानलाई वितरण गर्ने नीति बनाइनेछ ।
झ) बनेपा नगरपालिकामा दैनिक लगभग १२ हजार लिटर भन्दा बढि दूध उत्पादन हुन्छ । दूध चिस्यान तथा प्रशोधन केन्द्र निर्माण गरी आफ्नै पालिकाको ब्राण्ड तयार पारी पाकेट दूध, दूग्धजन्य पदार्थ बिक्री गर्ने ।
ञ) लोकल गाई पालनमा जनतालाई अग्रसर गराउने । गौशाला निर्माण गरी पञ्चगव्य अध्ययन
अनुसन्धान केन्द्र स्थापना गर्ने ।
ट) लोकल गाईको पञ्चगव्य आयुर्वेदिक औषधी हो । गव्य, गौमूत्र प्रशोधन गरी आर्थिक आर्जन गर्न सकिन्छ । यसको तालिम तथा ज्ञानको विकास गर्ने ।
ठ) माछा, कुखुरा, बुगुँर, बाख्रा, गाईभैंसी फर्म गर्नेलाई अनुदान, ऋण, तालिमसँगै कर छुटको व्यवस्था गर्ने।
ड) नाला क्षेत्रमा १ वटा, वासडोल क्षेत्रमा १ वटा र बनेपा बजार क्षेत्रमा १ गरी तिन ओटा उच्च
प्रविधियुक्त भण्डारण (कोल्ड स्टोर) निर्माण पहिलो आ.व. मा नै गरिनेछ । जनता तथा नगरको
साझेदारीमा उक्त भण्डारण निर्माण गर्ने र जनताको लगानी जनतालाई मुनाफा भन्ने नारालाई स्थापित गर्ने।
ढ) खेतीयोग्य जमीन बाँझो राख्न नपाइने । पाखा क्षेत्र नाँगो राख्न नपाइने । (उन्नत रुख, विरुवा,
मसला, फलफुल, उन्नत बाँस लगायतका अनुदान, सहुलियत प्रदान गर्ने ।)
ण) विषादी रहित अर्गानिक तरकारी, कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने । विषादीयुक्त उत्पादन खाने गर्नाले जनस्वास्थ्यमा गम्भीर समस्या आइरहेको अवस्था छ । विषादी मुक्त उत्पादनमा जोड दिने ।
त) किसानको पहिलो समस्या सिँचाइ हो । सिँचाइको चिन्ताले किसानले खेती गर्न डराउने अवस्था छ । सिँचाइको लागि कुलो, नहर, ड्याम निर्माण गर्ने । विद्युतीय मोटर प्रयोग गर्ने ज्ञान दिने र समुदायमा अनुदान वा ऋणको व्यवस्था गर्ने ।
थ) पानीका स्रोत खोला, खोल्सा, मुलहरुको पहिचान गरी पानीको स्रोत बढाउने, व्यवस्थापना गर्ने । उचित प्रयोग गर्ने व्यवस्था भएमा सिँचाइको समस्या नहुने निश्चित छ ।
क) बनेपा नगरपालिकाको ठूलो समस्या बेरोजगारी र उद्योग नहुनु हो । नगरपालिकाको युवा तथा दक्ष जनशक्तिको पहिचान गरी क्षमता अनुसारको रोजगार सिर्जना गर्नु नगरको पहिलो कर्तव्य हो ।
ख) सिप भएका युवालाई रोजगारः सिप नभएका युवालाई आवश्यक तालिमको सिर्जना गर्ने
ग) रोजगारका लागि उद्योग, कलकारखाना सञ्चालन गर्ने । नगरका जनताद्वारा नै “जनताको लगानीः जनतालाई मुनाफा” कार्यक्रम सञ्चालन गरी उद्योग, कलकारखाना, होटल, रिसोर्ट, लधु उद्योग सञ्चालनमा जोड दिने
घ) घरेलु उद्योग, साना उद्योग सञ्चालनमा जोड दिने । दक्ष जनशक्तीलाई सहुलियत ऋण, अनुदान, तालिमको व्यवस्था गर्ने ।
ङ) “एक घर एक रोजगार” कार्यक्रम प्रभावकारी बनाउने
च) एक घर एक लघु व्यवसाय कार्यक्रम सुरु गर्ने ।
(आलु, गोडभेडा, मूला, गुन्द्रुक, सब्जी, मकै, भटमास, तामा, सिस्नो) लगायतका खाद्यवालीबाट हुने साना उद्योग सञ्चालन गर्न नगरले आवश्यक सहयोग गर्ने ।
छ) विदेशबाट फर्किएका युवाको सिपको आधारमा घरेलु उद्योग सञ्चालन गर्न आवश्यक ऋण अनुदान प्रदान गर्ने ।
ज) हस्तकलाः वासका सामान, ढुंगाका सामान, काठका सामान, पराल, छ्वालीका सामानको निर्माण तालिम र उत्पादित बस्तुको बजारीकरणमा नगरपालिकाले गर्ने।
झ) हरियो बन नेपालको धन नारा अनुरुप बनजंगलबाट आयश्रोत व्यवस्थापन गर्न जडिबुटी तथा अन्य बन पैदावरको उत्पादनमा ध्यान दिने।
क) नगरपालिकाका कयौं गाउँ क्षेत्रमा आजसम्म यातायातको समस्या छ । बनेपा–३ नम्वर तिनधरे, काक्रे, सुमारा, चुनाताल, २ नम्बर चारघरे, घिमिरे गाउँ, १ नम्बर दुलाल गाउँ लामीछाने गाउँ, पाँडे गाउँ, रायगाउँका सडक जिर्ण अवस्थामा छ । तसर्थ १२ मासे सडक पूर्वाधार विकास गर्ने।
ख) वडा सम्म कालोपत्रः टोलटोलमा १२ मासे सडक योजना तयार गरी कार्यान्वयन गर्ने ।
ग) सबै वडामा नगर बस सञ्चालन गर्ने
घ) अपांगता भएका व्यक्तिलाई निःशुल्क यातायात सेवा दिने । अपांगमैत्री समाज निर्माण गर्ने।
ङ) सबै वडाका सडकमा १२ मासे एम्बुलेन्स चल्ने बाटो निर्माण, ढल व्यवस्थापन, नाली व्यवस्थापन गर्ने ।
च) सडकलाई दुर्घटना, खतरामुत्तः बनाउन सडकका खाल्डा, नाली पुनः निर्माण गर्ने र आवश्यक रहेमा सडक बोर्डलाई अग्रसर गराउने ।
छ) सडक क्षेत्रमा पार्किङ, निर्माण सामग्री राख्न नदिने तथा निर्माण सामग्री राख्न आवश्यक स्थान उपलब्ध गराउने ।
ज) सडक दायाँबायाँ वृक्षरोपण गर्ने
झ) सडकका पोलहरुमा विद्युत प्राधिकरणसँग सहकार्य गरी सोलार, बिजुली बत्ती राखी रातिमा दुर्घटना न्युनिकरण गर्ने
ञ) सडकमा आवश्यक डिभाइडर, जेव्राक्रस, सडक ट्राफिक लाइट राखी दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।
ट) सागा देखी बुडोल सम्मको दायाबायाको मार्ग स्तरोन्नती गरि सडकमा ट्राफीक व्यवस्थापन गर्ने।
ठ) बनेपा बजार क्षेत्रका सडकहरुमा विजुली बत्ती,सिसि क्यामारा जडान र विस्तार गर्ने।
ड) बनेपा चार दोवाटो र तिन दोवाटोमा आकासे पुल बनाउन बजेट विनियोजन गर्ने ।
ढ) बनेपाको तिन दोबाटो, चार दोबाटोमा ट्राफिक लाईट राख्ने।
ण) बनेपा–नाला सडक खण्ड कालोपत्रे योजना पुरा गर्न पहल गर्ने।
त) प्रकृतिको दोहन बन्द गर्ने, खेतियोग्य जमिनमा प्लटिङ्गको अन्त्य गर्दै बैकल्पिक योजना तयार गर्ने।
क) बृद्ध तथा जेष्ठ नागरिकको सरकारले दिने भत्ता बैंक खातामा राख्ने प्रवन्ध मिलाईनेछ।
ख) हरेक बर्ष ८० बर्ष माथीका नागरिकलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको सुरुवात गरिनेछ।
ग) ज्येष्ठ नागरिकका लागि ब्यायामशाला निर्माण, चौतारी,सत्तल, पार्क निर्माण गरिनेछ।
घ) हरेक ६ महिनामा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटन गराईने प्रवन्ध मिलाईनेछ।
ङ) ज्येष्ठ नागरिकको हकमा हरेक ३ महिनामा स्वास्थ्य घुम्ती सेवा गरि नियमित स्वास्थ्य जाँच गराईनेछ।
च) बौद्धिक तथा सरकारी सेवा निवृत्त नागरिकको ज्ञान तथा सिपलाई नगर विकासका लागि प्रयोग गरिनेछ।
क) नगरपालिका भित्रका खाली तथा आवश्यक स्थानमा बगैचा निर्माण गरिनेछ।
ख) नगरपालिका भित्र आधुनिक सेवा सुविधा सम्पन्न बालबालिका देखी बृद्धसम्मलाई मनोरञ्जन दिन सकिने पार्क निर्माण पहिलो आव मै गरिनेछ।
ग) एक वडा एक खेल मैदान निर्माण गर्ने
घ) क्रिकेट, पौडी, भलिवल, कँराते, फुटवल खेल लगाएतका खेलकुद विकासका लागि खेलमैदान तथा आवश्यक पुर्वाधार विकास पहिलो प्राथमिकतामा राखीनेछ।
ङ) फुटवल मात्र नभएर अन्य खेलको पनि अन्तरविद्यालय तथा अन्तर नगर स्तरिय प्रतियोगिता सुरु गरिनेछ।
सडक जनावर तथा जिवजन्तुः
क) सडकमा छाडिने गाई, गोरु व्यवस्थापन तथा आवश्यक निति निर्माण गरिनेछ।
ख) नगरको प्रमुख समस्या भुस्याहा कुकुर पनि एक हो तसर्थ कुकुरलाई रेविज लगायत अन्य रोगको खोप लगाउने तथा उचित व्यवस्थापन गरिनेछ।
ग) गाउँ क्षेत्रमा बँदेल तथा दुम्सीको प्रभाव ज्यादै छ। किसान बाली जोगाउन नसकेर चिन्तित छन तसर्थ तिनको उचित व्यवस्थापन गरि अन्न बाली जोगाउने योजना तयार गरि कार्यान्वयन गर्ने।
घ) गौशाला÷बृषभशाला निर्माण गरि सडका अलपत्र पारिएका जनावरको संरक्षण गरिनेछ।
क) नगरपालिक भित्रका कलाकार, साहित्यकार,गजलकार,गितकार,नाट्यकलाकार लाई उच्च सम्मान सहित कलाकारको बार्षिक रुपमा सम्मान गर्ने।
ख) नगरपालिकाले नगरको महिमा र गरिमा उच्च राख्ने नगरका साहित्यकारहरुको सिर्जनाको अडियो, भिडियो तथा पुस्तक प्रकाशन प्राथमिकतामा राख्ने।
ग) चलचित्र, गित संगीतको छाँयाकन स्थल निर्माण संगै स्थानिय क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने।
घ) सामाजिक व्यक्तित्वहरुको उच्च सम्मान गर्दै “नगर धरोहर ” सम्मानको सुरुवात गर्ने।
ङ) नगरपालिका भित्रका साहित्य,सिर्जना प्रकाशन भएमा नगरपालिका भित्रका विद्यालय, सरकारी कार्यालय तथा स्कुल कलेजमा त्यसको बजारीकरणमा
सहयोग गर्ने।
च) योग,ध्यान,बाटिकाहरु निर्माण, कला, साहित्य, काव्य,सिप विकासका लागि वातावरण निर्माण गर्ने ।
युवा तथा महिला
क) युवा देशको भविष्य हो तसर्थ युवा सशक्तीकरणमा जोड दिने।
ख) महिला हिंसा अन्त्य गर्ने।
ग) युवापुस्ता कुलतमा फस्दै गएकाले आवश्यक न्युनिकरणको योजना सबलीकरण गर्ने।
घ) युवाको जोश,जाँगरलाई नगर निर्माणमा लगाउने साथै व्यवसायीक ज्ञानको विकासमा योजना बनाउने।
ङ) महिलाहरुलाई व्यवसायिक तालिम दिएर व्यवसाय तर्फ अभिप्रेरित गर्ने।
१) जनताको लगानी ः जनतालाई मुनाफा
(जनताको लगानी उपयोग गरि नगरमा नयाँ योजना ल्याउने, साना,मझौला उद्योग संचालनमा स्थानियको लगानी सुनिश्चित गरि शेयर हाल्ने योजना ल्याउनु आवश्यक छ)
२) एक वडा ः एक स्वास्थ्य चौकी एक प्रहरी चौकी
३) एक घर ः एक रोजगार
४) एक गाँउ ः एक उद्योग
(आलु चिप्स,मकै,भटमास,गुन्दु्रक,गोलभेडाका खाद्य वस्तु उत्पादन, नगदे बालीमा जोड दिने)
५) गुणस्तरिय शिक्षामा सबैको समान पँहुच
(सामुदायिक तथा प्राईभेट विद्यालयमा एकै पाठ्यक्रम अध्ययन अध्यापन गराउने)
६) सवारी चालक, श्रमीक वर्गलाई संचय कोषको योजना
७) प्रविधिमैत्री अनलार्ईन शुसासन प्रणाली
८) श्रमिक वर्गलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य विमा योजना
९) जनताको उत्पादन नगरको बजारीकरण योजना
(कृषी सहकारी स्थापना गरि किसानका उत्पादनको बजार नगरले व्यवस्थापन गर्ने)
१०) कलाकारको सम्मानः कला,साहित्यको सम्मान
११) एक घर ः एक धारा एक सिँचाई अभियान
१२) राष्ट्रको लागि खेलकुद ः स्वास्थ्यको लागि खेलकुद
१३) स्थानिय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने
१४) कृषीकल्चर (प्रविधिमा कृषी, किसान र व्यापारी )
१५) शिपशाला (प्रविधिमा रोजगारदाता र बेरोजगार दक्ष जनशक्ति )
१६) उद्यमी (प्रविधिमा स्थानिय तह र उद्यमीहरुको सहभागिता)
१७) कालोबजारीको अन्त्य
१९) हरेक घरमा धारा ः हरेक घरमा सिँचाई
२०) सरकारी विद्यालयमा मन्टेश्वरी कक्षा अनिवार्य
२१) सुन्य भ्रष्टाचारमा प्रतिवद्धता
२२) नदिनाला बचाउ ः सभ्यता बचाउ अभियान संचालन गर्ने
२३) प्रकृतिको रक्षा ः प्राणीको सुरक्षा नारा स्थापित गर्ने
२४) साँस्कृतिक सम्पदाको संरक्षणः इतिहासको संरक्षण
२५) महिला सशक्तिकरणः युवा संबृद्धिकरण अभियान संचालन गर्ने
२६) नगर विकाश निगम स्थापना गर्ने
(नगर विकाशका हरेक योजनामा जनताको प्रत्यक्ष सहभागिता गर्ने)
२७) राष्ट्रिय पोशाक तथा भेषभुषा संग्राहालयको स्थापना गर्ने
२८) सडक जनावरको उचित व्यवस्थापन
२९) युवामा कुलत,दुव्र्यशनी न्युनिकरण कार्यक्रम
३०) नयाँ आविस्कार तथा रैथाने शिक्षा जागरण कार्यक्रम
क) “शिक्षामा सबैको गुणस्तरीय समान पहुँच” अवधारणा सुरु गरिनेछ ।
ख) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरिनेछ । जसका लागि शिक्षकलाई आवश्यक तालिम भत्ता, सिप प्रदान गरिनेछ।
ग) प्राइभेट स्कुल÷कलेजमा पढाउने शिक्षकको तलब भत्ता, सेवा सुविधा समय सापेक्ष बनाइनेछ । प्राइभेट तथा सामुदायिक विद्यालयका लागि विशेष प्रकारको शिक्षा नीति कार्यान्वयन गरिनेछ । निजी र सामुदायिक विद्यालयको पाठ्यक्रम एकै प्रकारको बनाइनेछ ।
घ) कक्षा ८ देखि १२ सम्म रोबोटिक कक्षा सञ्चालन गरिनेछ । जसका लागि दक्ष शिक्षक परिचालन गरिनेछ ।
ङ) सामुदायिक विद्यालयको प्रविधिमैत्री, डिजिटल, प्रयोगात्मक शिक्षामा जोडमा दिइनेछ । स्थानीय तहको पुस्तक निर्माण गरी अध्यन अध्यापन गराइनेछ । विद्यालयहरुलाई पालिका भित्रका धार्मिक, सामाजिक, सम्पदा र धरोहरको भ्रमण अनिवार्य गराइनेछ ।
च) सामुदायिक विद्यालयको शैक्षिक सँगै खेलकुद विकासका लागि पौडी, क्रिकेट, फुटबल, साइक्लिङ्ग, टेनिस, भलिबल लगायतको अतिरिक्त तालिम सञ्चालन गरी राष्ट्रिय खेलाडी तयार गरिनेछ ।
छ) अतिरिक्त शिक्षा गायन, लेखन, साहित्य, सृजना, नृत्यको कक्षा अनिवार्य गरिनेछ । अति विपन्न परिवारको हमा निःशुल्क कक्षा लिइ संचालन गरिनेछ ।
ज) प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो । तसर्थ प्रविधिको उच्चतम प्रयोग गर्न आवश्यक सिप, ज्ञान, स्रोत साधनको लागि नगरले कुनै कसर छोड्ने छैन । गुणस्तरीय सिकाईलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
झ) मन्टेश्वरी कक्षा सामुदायिक विद्यालयमा सुरु गरि तालीम प्राप्त शिक्षक शिक्षीकाबाट शिक्षण गराउनेछौँ।
ञ) प्रविधिको युगको सुरुवात संगै प्रविधिले अपराध पनि बढाईरहेकोले स्थानिय पाठ्यक्रममा न्याय र कानुनको शिक्षा पनि लागु गरिने योजना रहेको छ।
ट) नेवारी,तामाङ्ग,संस्कृत शिक्षा सहितको कक्षा संचालन गरिनेछ।
कृषि ÷पशुपालन
क) बनेपा नगर कृषकको नगर हो । किसान राष्ट्रको धरोहर हो,किसान बिना कृषि उपज उत्पादन हुँदैन । कृषि उपज जिवनको आधार हो । किसानलाई सम्मान नै अन्नको सम्मान हो, अन्न जीवन हो । यो सत्यलाई आत्मसाथ गरि किसानको सम्मान गरिनेछ।
ख) नगरका लगभग ८० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् । तसर्थ नगरको बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिईनेछ ।
ग) किसान ऋणमा डुब्ने तर कृषि उपज विक्री नभएर खोला र खाल्डामा पुनुपर्ने बाध्यतको अन्त्य गर्ने, जसका लागि नगरले कृषि उपजको बजारीकरण गर्नेछ ।
घ) आलु, तरकारीको पकेट क्षेत्र अन्तर्गत नाला १, २, ३, ४ वडा ११, १२, १३, १४, वडा र ५, ६, ७, ८, ९, १० वडामा कोल्ड स्टोर बनाउने । किसानका कृषि उपज कुहिने, नबिक्ने कुराको उचित मुल्यांकन गरि बजार भाउको एकरुपता गर्ने पहिलो वर्षको लक्ष्य हो ।
ङ) कृषि औजार, मलखाद्य, तालिम, ऋण, अनुदान, विउविजनमा सहुलियत गर्ने । वडा वडामा कृषि जेटिएलाई प्रोत्साहन र किसानलाई तालिम प्रदान गर्ने
च) बहुवर्षिय बाली( सुन्तला, अनार,मसला,फलफुल) लाई प्राथमिकतामा राख्ने, जसका लागि नगरले अनुदान, ऋण र सहुलियतता प्रदान गर्ने
छ) कृषि फर्म र पशु फर्म गर्नेलाई कर छुटको व्यवस्था गर्ने
ज) कृषि उपज नगरपालिकाको सहकार्यमा कृषि सहकारी मार्फत गरिनेछ । किसानले उत्पादन गरेको जुनकुनै उपज खरिद गर्ने, नाफा पुन सहकारी मार्फत किसानलाई वितरण गर्ने नीति बनाइनेछ ।
झ) बनेपा नगरपालिकामा दैनिक लगभग १५ हजार लिटर भन्दा बढि दूध उत्पादन हुन्छ । दूध चिस्यान तथा प्रशोधन केन्द्र निर्माण गरी आफ्नै पालिकाको ब्राण्ड तयार पारी पाकेट दूध, दूग्धजन्य पदार्थ बिक्री गर्ने ।
ञ) लोकल गाई पालनमा जनतालाई अग्रसर गराउने। गौशाला निर्माण गरी पञ्चगव्य अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने।
ट) लोकल गाईको पञ्चगव्य आयुर्वेदिक औषधी हो। गव्य, गौमूत्र प्रशोधन गरी आर्थिक आर्जन गर्न सकिन्छ। यसको तालिम तथा ज्ञानको विकास गर्ने।
ठ) माछा, कुखुरा, बुगुँर, बाख्रा, गाईभैंसी फर्म गर्नेलाई अनुदान, ऋण,तालिमसँगै करमा सहुलियतता व्यवस्था गर्ने ।
ड) नाला क्षेत्रमा २ वटा, महेन्द्रज्योती क्षेत्रमा १ वटा र साँगा बजार क्षेत्रमा १ गरी तिन ओटा उच्च प्रविधियुक्त भण्डारण (कोल्ड स्टोर) निर्माण पहिलो आ.व. मा नै गरिनेछ ।
जनता तथा नगरको साझेदारीमा उक्त भण्डारण निर्माण गर्ने र जनताको लगानी जनतालाई मुनाफा भन्ने नारालाई स्थापित गर्ने ।
ढ) खेतीयोग्य जमीन बाँझो राख्न नपाइने । पाखा क्षेत्र नाँगो राख्न नपाइने । (उन्नत रुख, विरुवा, मसला, फलफुल, उन्नत बाँस लगायतका अनुदान, सहुलियत प्रदान गर्ने ।)
नगरपालिकाको खाली जग्गा कृषकलाई न्यूनतम शुल्कमा उपलव्ध गराइनेछ।
ण) विषादी रहित अर्गानिक तरकारी, कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने । विषादीयुक्त उत्पादन खाने गर्नाले जनस्वास्थ्यमा गम्भीर समस्या आइरहेको अवस्था छ । विषादी मुक्त उत्पादनमा जोड दिने ।
त) किसानको पहिलो समस्या सिँचाइ हो । सिँचाइको चिन्ताले किसानले खेती गर्न डराउने अवस्था छ। सिँचाइको लागि कुलो, नहर, ड्याम निर्माण गर्ने । विद्युतीय मोटर प्रयोग गर्ने ज्ञान दिने र समुदायमा अनुदान वा ऋणको व्यवस्था गर्ने ।
थ) पानीका स्रोत खोला, खोल्सा, मुलहरुको पहिचान गरी पानीको स्रोत बढाउने र व्यवस्थापना गर्ने। उचित प्रयोग गर्ने व्यवस्था भएमा सिँचाइको समस्या नहुने निश्चित छ।
द) पशुपालन गर्ने किसानलाई विकसित, उन्नत जातका पशु चौपाय, दाना,पिठोको उचित मुल्य निर्धारण गर्ने।
क) नगरको डिजीटल प्रोफाइल तयार गरी नगरको वस्तुगत विवरण सहितको सिस्टम तयार पार्ने ।
ख) ईआरपी (एकीकृत शुसासन प्रणाली) को विकास गरी बहुउपयोगी ९ष्लतभचबअतष्खभ० मोबाइल एप्सको विकास गर्ने ।
ग) नगरपालिकाको दर्ता चलानीदेखि राजश्व ,कर संकलनलाई अनलाइन लैजाने।
घ) शाखाको अधिकतम काम कम्प्युटर माध्यमबाट गर्न प्रविधिको विकास गर्ने।
ङ) हरेक वडा कार्यालयमा फ्रि वाइफाई तथा फोटोकपी प्रिन्ट निःशुल्क गर्ने व्यवस्था मिलाउने।
च) सबै वडामा ल्याण्डलाइन फोन तथा इन्टरनेट पहँुच पु¥याउने।
छ) सामुदायिक विद्यालयमा फ्रि इन्टरनेट र आईसीटी कक्षा सञ्चालन गर्ने।
ज) डिजिटल हस्ताक्षर सहितको सेवा प्रदान गर्ने
झ) वडा तथा नगरबाट हुने सेवा सुविधा जस्तै सिफारिस, दर्ता चलानी, घरबाटो, नक्सापास लगायतलाई सम्भव भएसम्मका सेवा अनलाइन गर्ने प्रयास गर्ने
ञ) पहिलो आर्थिक वर्षमै चिप–कार्ड निर्माण गरी सबै जनताको विवरण चिप कार्डमा राख्ने । नागरिकता, लालपूर्जा लगायतको फोटोकपी गर्ने झन्झटबाट मुक्त गर्ने । चिप कार्डकै माध्यमबाट अनलाइन सेवा प्रवाह गर्ने ।
ट) ई–बैंकिङ्ग सुरु गरी भ्रष्टाचार सुन्य गर्दै लाने
ठ) डिजिटल साक्षरता सम्बन्धी तालिम र घरदैलो साक्षरता अभियान सञ्चालन गर्ने।
क) नगरपालिकाको समस्या खानेपानी, सिँचाई, सरसफाई हो । पानी छ त जीवन छ । सरसफाई छ त स्वास्थ्य छ । नगरको महत्वपूर्ण योजना पानीमा हुनुपर्छ ।
ख) “एक घर एक धाराः एक घर एक सिँचाई” नगरपालिकाको पहिलो अभियान हो।
ग) जनतालाई काकाकुल बनाएर नगरले अन्य कुनैपनि पूर्वाधार विकास गर्नु अन्याय हो । तसर्थ सबैलाई पानीको पहुँच पु¥याउन प्रतिबद्ध हुनेछौं ।
घ) नगरपालिकाभित्र भएका पानीको स्रोत बढाउने । जसका लागि वृक्षरोपण, भू–क्षय रोक्ने, पानीको मुहानहरुको दीर्घकालिन संरक्षण योजना बनाई कार्यान्वय गर्ने ।
ङ) पानीका स्रोत (मुहान, कुवा, पधँेरो, सिससार, खोलानाला) को संरक्षण गर्ने र पानीको स्रोत बढाउने।
च) पानीका स्रोत भएका जग्गाधनिलाई उचित वार्षिक शुल्क (रकम) दिई पानी उपयोग गर्ने नीति बनाउनुपर्छ । जसका कारण जग्गाधनीको जीवनस्तर उकासिनेछ भने नगरका जनताले पानी पाउनेछन् । निश्चित थोरै शुल्क तिरी स्वच्छ पानी, सिँचाई गर्न सकेमा आम्दानीका स्रोत बढ्नेछन् । खेती बढी हुनेछ र आर्थिक स्तरोन्नती हुनेछ ।
छ) पानीको अभाव बनेपाका १४ वडाहरुमा नै छ। नगरभित्रका पानीका स्रोत जम्मा गरी खानेपानीको समस्या सिघ्र हल गर्न सकिन्छ।
ज) सरसफाई तर्फ जनचेतना जगाउन आवश्यक छ । फोहोरमैला उचित व्यवस्थापन गरी फोहोरलाई मोहोर बनाउने तालिम, ज्ञान दिनु नगरको प्रमुख दायित्व हो ।
झ) बनेपा नगरका १४ वडाहरुमा फोहोर संकलन केन्द्र स्थापना गर्न पर्दछ। दैनिक उपभोग्य बस्तुबाट निस्किएको फोहोर लगभग ७५–८० प्रतिशत पुन प्रयोग गर्न सकिनेछ। फोहोर किन्नको लागि स्मार्ट कवाडी डिजिटल सिस्टमको विकास गरि सहजै रुपमा फोहोर नगरले किन्न र बेच्न सक्नेछ।
ञ) खोलामा फोहोर फाल्ने कामलाई अन्त्य गरिनेछ। सबै वडामा निशुल्क फोहोर संकलन गरिनेछ।
ट) फोहोरमैला बाट बनेको कम्पोष्ट मल नगरपालिकाले बजार व्यवस्थापन गर्नेछ।
क) नगरको अन्य आम्दानीको स्रोत पर्यटन प्रवद्र्धन हो ।
ख) नगरको बाह्य आम्दानी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनले हुन्छ । पर्यटकलाई नगरले आवश्यक योजना तयार पारी शुल्क निर्धारण गर्ने । पर्यटक नगरका धार्मिक सम्पदा, साँस्कृतिक सम्पदा प्राकृतिक सम्पदा र जात्रा पर्व हेर्न आउने गर्दछन् । तसर्थ नगरको चाडपर्व जात्रालाई विश्वव्यापी बनाउनुपर्छ ।
१) चण्डेश्वरी जात्रा ५) करुणामाई जात्रा
२) भगवी जात्रा ६) भिससेन जात्रा
३) चामुण्डा जात्रा ७) कन्यापुजा÷म्हः पूजा
४) खैजडी भजन, राम भजन लगायतका धार्मिक, साँस्कृति पर्व जात्रा
ग) नगरभित्रका हरेक जातजातिका चाडपर्व, परम्परा, गीत, भजन संरक्षण, प्रवर्धनमा नगरले आवश्यक सहकार्य गर्नेछ । आवश्यक मिडिया, पर्यटक भित्राउने कम्पनी, संघसंस्थासँग सहकार्य गरी धार्मिक, साँस्कृति र सम्पदा प्रेमी पर्यटक भित्राएर आर्थिक उपार्जन गर्न आवश्यक नीति योजना बनाई कार्यान्वयन गरिनेछ ।
घ) नगरकोट–काशिभञ्जयाङ्ग–टनचोक–नैमीशारण्य–चण्डेश्वरी हुँदै नगरकोट सम्मको पर्यटकीय पदमार्गलाई सुधार, मर्मत गरी पर्यटन प्रवद्र्धन गर्ने ।
ङ) नगरकोट–घिमिरेगाउँ–नाला–साँगा हुँदै आशापुरे सम्म धार्मिक पर्यटकीय पदमार्ग निर्माण तथा प्रवर्धन गर्न सकिन्छ ।
च) साइक्लिङ्ग मार्ग निर्माण गर्ने । साइकल चक्रपथ, अवधारणामा गृहकार्य गर्ने । नगरकोट–ठूलोचौर–काफलबोट– काशिभञ्जयाङ्ग–नैमीशारण्य–चण्डेश्वरी–धनेश्वर–सिनागाल–वासडोल–आशापुरे–साँगा–नाला घिमिरेगाउँ हुँदै नगरकोट सम्मको साइकल रुट विकास गर्ने ।
धार्मिक पर्यटन र सम्पदा अन्तर्गत बनेपा नगरका प्रमुख धार्मिक÷ऐतिहासिक स्थलहरुः
१) चण्डेश्वरी माई ९) धनेश्वर महादेव
२) उग्रचण्डी भगवती १०) गोसाइस्थान ÷नौमिशारण्य
३) करुणामाई ११) बौद्ध गुम्बा
४) श्री कृष्ण प्रणामी मन्दिर १२) उग्रतिर्थ
५) विकरेश्वर महादेव १३) चामुण्डा देवी
६) रत्न चुडेश्वर १४) बाल्मीकेश्वर महादेव
७) काभ्रे भिमसेन १५) बासुकी नागस्थान
८) मनकामना माई १६) गोरखकाली मन्दिर
यी सबै धार्मिक सम्पदा धार्मिक पर्यटक सम्भावना हुन् ।नगरको पहिचान समेतको प्रतिनिधित्व गर्ने धार्मिक सम्पदाको संरक्षण हाम्रो परम कर्तव्य हो।
छ) हरेक तीन महिनामा नगरले धार्मिक पदयात्रा गर्ने प्रबन्ध मिलाउनेछ । नगरभित्रका विद्यालयहरुलाई स्थानिय धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाको भ्रमण गराउने ।
ज) नगरपालीका भित्र रहेका पर्यटकिय गन्तव्य चण्डेश्वरी जंगल, नैमिशारण्य, नागी डाँडा, नगरकोट, काशिभञ्जयाङ्ग,बासुकी बन लगायतका क्षेत्रको पूर्वाधार विकास, पर्यटन भित्राउन संस्कृति मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटन व्यवसायीसँग सहकार्य गर्ने ।
झ) तिनघरे देविटार क्षेत्रमा तारे होटलका लागि लगानीकर्ता खोजी होटल व्यवसायमा बढावा दिईनेछ।
ञ) लामिछाने गाउँ, घिमिरेगाउँ,चुनाताल हुँदै काक्रे, तिनघरे सम्म होम स्टे व्यवसाय सुरुवात गर्ने।
ट) बाँसडोल,खाल्चोक, आशापुरी क्षेत्रमा होम स्टे सुरु गरिनेछ। जसका लागि होमस्टे महासंघ संग सहकार्य गरिनेछ।
क) नगरका मन्दिर, पाटी,पौवा,ढुंगेधारा संरक्षणमा नगरको ध्यानाकर्षण हुनेछ।
ख) नगरपालिक भित्रका बजार क्षेत्र भित्र रहेका इनार र पानी सिंचितीका श्रोतहरुको उचित प्रवन्ध मिलाउने।
ग) धार्मिक आस्था बोकका गाउँठाउँका स–साना मन्दिर तथा पाटीपौवा, चौतारी निर्माण संगै संरक्षणमा उचित रकम सहितका योजना तयार पारिनेछ।
घ) बनेपा नगरपालिका ३ काँशीभन्ज्याङमा काशी धामको विकाश गरिनेछ। जहाँ बनारसको काशी विश्वनाथको शिवलिङ्ग निर्माण गरि सानोकाशी धामको रुपमा विकास गरिनेछ।
ङ) बासुकी,हिले जलजले क्षेत्रको एकिकृत विकासमा बजेट सहितको नगर गौरव योजना सुरु गरिनेछ।
च) चण्डेश्वरी देखी काँशीभन्जयाङ हुँदै बासुकी सम्मको बृहत धार्मिक पदमार्गको योजना अघि सारिनेछ।
छ) समतामूलक, हिंसारहित, शान्त, सम्वृद्ध, समुन्नत र पारदर्शी सुशासनको लागि दिगो विकास र प्रकृतिमैत्री संस्कृतीमैत्री नगर निर्माणको योजना।
क) घर आवास विहिनहरुको आवास योजना।
ख) बजार क्षेत्रमा सार्वजनीक शौचालय निर्माण।
ग) व्यवस्थित पिकनिक स्पोट।
घ) बजार क्षेत्रका लागि बु्रमर संचालन।
ङ) व्यवसायीलाई करमा बैज्ञानीक प्रणाली विकास।
राजानन्द माण्डव्य
नगर प्रमुख पदको उम्मेदवार (स्वतन्त्र)
यो माटोको सुगन्धमा म राष्ट्रियता पाउँछु,
मैले लगाउने दौरा सुरुवालमा म पहिचान पाउँछु,
मैले बोक्ने राष्ट्रिय झण्डामा म स्वाभिमान पाउँछु
त्यसैले त म आफुलाई नेपाली भन्दा गर्व गर्ने गर्छु
मलाई लाग्छ देश भनेको भुगोल मात्र हैन देश भनेको त भुगोल भित्रको राष्ट्रियता हो। विविध जातजाती, भाषाभाषी, संस्कृति, धर्म, रहनसहन र भुगोलको समग्र एकता नै राष्ट्रियता हो।
देश हुनको लागि जनता र जनताका सार्र्वभौमसत्ता आवश्यक पर्दछ। देशको कला सभ्यता, धरोहर र सम्पदाको जर्गेना गर्ने उदेश्यले विगत १ दशक देखी अथक रुपमा म पोशाक, राष्ट्रिय झण्डा लगाएत धरोहरको संरक्षणमा म प्रतिवद्ध छु।
नेपालको कला संस्कृति अर्थात पूूर्विय संस्कृति विश्वमा नै पृथक र ऐतिहासीक छ। नेपालको प्रकृति नै मनोरम छ। नेपाललाई देवालय भनिन्छ कारण यहाँका मौलिक सम्पदा र कलाहरु हुन। तसर्थ धरोहरको संरक्षण नै मेरो जिवनको मुल लक्ष्य हो।
१) राष्ट्रिय पोशाक दिवस–संस्थापक
२०७० साल पौष १७ गतेका दिनबाट सुरु गरिएको नेपाली पोशाक दिवसको स्थापना गरियो। हरेक बर्ष पौष १७ गते अर्थात जनवरी १ का दिन विश्वभरि रहेका नेपाली तथा नेपाली संस्कृती प्रेमी नागरिकहरुले भव्यताका साथ पोशाक दिवसको रुपमा मनाउन थालिएको छ। टोपी दिवसको नामले परिचित अभियानको संस्थापक भएर काम गर्न पाउँनु मेरा लागि गौरवको विषय हो। अभियानले आगामी बर्षबाट अन्तरराष्ट्रि पोशाक दिवसको अभियान संचालन गरि विश्वभरि पोशाक दिवसको स्थापना गर्र्ने लक्ष्य राखेको छ।
२) राष्ट्रिय झण्डा दिवस –संस्थापक
२०७५ साल पौष १ गतेका दिनबाट मनाउन सुरु गरिएको राष्ट्रिय झण्डा दिवसको संस्थापन गरि नेपालको झण्डाको एक ऐतिहासीक पर्वको स्थापना भएको छ। राष्ट्रिय झण्डाको गरिमा र महिमाको कमी आईरहको वर्तमान समयमा नेपाली नागरिकलाई झण्डाको महत्व दर्शाउन दिवस स्थापना गरियो। विशेषत सन् १९६२ डिसेम्वर १६ का दिन संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई आधिकारिकता दिइएको दिनलाई स्मरण गर्दै विगत ४ बर्षदेखी राष्ट्रिय झण्डा दिवसको रुपमा नेपाल तथा विश्वभरी रहेका नेपालीहरुले मनाईरहेका छन। झण्डा दिवसको परिकल्पना गरि दिवस मनाउन पाउनु मेरा लागि गौरवकोे विषय बनेको छ।
३) विश्व हिन्दू युवा संघ – केन्द्रिय प्रवक्ता ः
विश्वभरि रहेका हिन्दू धर्मालम्वीहरुको आस्था र विश्वासको केन्द्र नेपाल हो। हिन्दू धर्मको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो। धर्म पहिचान हो तसर्थ आफ्नो धर्मको रक्षा गर्नु आजको प्रमुख आवश्यक्ता हो। गाई, गाँजा,गोरक्षनाथको ज्ञान विश्व सामु व्याप्त गराउने उदेश्य स्वरुप स्थापना भएको विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा कार्य गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो। यतिबेला लिपुलेकमा बेदव्यासधाम सहित देशव्यापी गौशाला निर्माणमा संगठनले कार्यहरु गर्दै आईरहेको छ।
४) गौ संरक्षण अभियान – महासचिव ः
गाईहरुको संरक्षण तथा स्थानिय गाईबाट उत्पादन हुने पञ्चगव्य उत्पादन गर्ने उदेश्य स्वरुप स्थापना भएको यस संस्थाले बर्दियामा ८ वटा गौशाला निर्माण गरिहेको छ। सडकमा विचल्ली पारिएका गाई तथा गोरुको संरक्षण गरि गौशाला निर्माण कार्यका हामी सक्रिय रहि आएका छौँ।
५) राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल – संस्थापक
राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवसको स्थापना पश्चात नेपालका संस्कृति, सम्पदा र धरोहरको संरक्षण गर्ने मुल उदेश्य राखी यस संस्थाको स्थापना गरिएको हो। प्रतिष्ठानले यसै सालको पोशाक दिवसको दिनमा इतिहासविद तथा वांमयपुरुष सत्यमोहन जोशीज्यूलाई संस्कृति मन्त्री माननिय प्रेम बहादुर आलेज्यूूको हातबाट नगद ११,१११ – एघार हजार एक सय एघार रुपैयाँ) सहित राष्ट्रिय धरोहर सम्मानले सम्मानित गरेको छ। साथै संस्थाले पोशाक तथा भेषभुषा संग्राहालयको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।
६) काभ्रे सेवा समाज –कार्यसमिति सदस्य
काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर देशका विभिन्न जिल्लाहरुमा कार्यक्षेत्र बनाएका निजामति तथा सरकारी सेवामा आवद्ध व्यक्तित्व तथा सामाजिक सेवामा सक्रिय काभे्रलीहरुको साझा संगठनको रुपमा काभ्रे सेवा समाज सामाजिक कार्यहरु गर्दै आईरहेको छ। नेपाल सरकारका विभिन्न सरकारी कार्यालयमा कार्यरत तथा सेवा निवृत्त कर्माचारीहरु रहेको यस समाजमा कार्यसमिति सदस्यको रुपमा कार्य गर्दै आईरहेको छु। मलाई काभ्रेली हुनुमा गर्व महसुस हुन्छ।
७) स्मार्टपलिका – सहसंस्थापक
स्थानिय तह अर्थात नगर तथा गाउँपालिकाहरुमा डिजिटल रुपान्तरको उदेश्य लिएर स्मार्टपालिकाले विगत ४ बर्षदेखी काम गर्दै आईरहेको छ। डिजिटल शुसासन तथा प्रविधिमैत्री स्थानिय तहको निर्माण गर्दै पेपरलेस, क्यासलेस सरकार संगै अनलाईन सेवा सुचारु गर्ने काम य कम्पनीले गर्दै आएको छ, देशका सयाँै स्थानिय निकायमा सहकार्य गर्दै यतिबेला नेपालको उत्कृष्ट सुचना प्रविधि क्षेत्रमा अग्रिणी कम्पनीको रुपमा स्मार्टपालीका परिचित छ।
८) सामाजिक आवद्धता
क) गत बर्ष बनेपा नगरपालिका वडा नं ७ निवासी एकल महिला चन्द्रमाया श्रेष्ठको घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको छ ।
ख) यस बर्ष बनेपा नगरपालिका वडा नं ३ सुमारा निवासी विपन्न परिवार धुर्व प्रसाद दाहालको घर निर्माण भईरहको छ।
ग) बाग्मती सरसफाई, चक्रपथ सरसफाई लगाएतका सरसफाई अभियानमा सक्रिय रहेको छु।
घ) धार्मिक स्थल सरसफाई तथा संरक्षणमा निरन्तरता ।
ङ) म बनाउछु मेरो धरहरा अभियान गरि हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न ।
९) गायन तथा साँस्कृतिक जागरण
क) सिमानामा पर्खाल लगाआँै (शव्द तथा लय)
ख) मेरो झण्डा फरफराउँछ (शव्द,लय,स्वर)
ग) बनेपा नगर जिन्दावाद (चुनावी गित)
अन्त्यमा,
मैले आजसम्म कुनेपनि दलको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबादको नारा लगाएको छैन। देश निर्र्माणमा मेरो तन,मन,बचन,कर्मले सदैव योगदान दिदै आईरहेको छु। लोकतन्त्रमा निर्वाचन प्रक्रिया सुन्दर पक्ष हो। मेरो हार या जिन भन्दा पनि पदमा पुग्ने जनप्रतिनिधि दलिय स्वार्थ भन्दा माथि उठेर गाउँ, नगर,जिल्ला र देश निर्माणमा समर्पित हुनुपर्दछ। जनप्रतिनिधि पार्टि प्रतिनिधि हुनु हुदैन।
म मेरो जिवनकालमा सदैव देश र जनताको हक,हितमा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछु।
जय मातृभूमी ।